काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानुनी परामर्श सेवा


काठमाडौं – काठमाडौं महानगरपालिका ३२ वटै वडामा आज (बिहीबार) बाट निःशुल्क कानुनी सहायता सुरु भएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले विवादहरू समाधानका लागि महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता सुरु गरिएको बताए ।

जसका लागि महानगरले नेपाल ल क्याम्पसँग सम्झौता गरेको छ । क्याम्पसका स्नातक उत्तीर्ण गरेका ३२ जना कानुनी परामर्शका लागि वडामा खटिने छन् ।

प्रवक्ता मानन्धरका अनुसार महानगरका वडाका सामान्य विवादहरू महानगरको न्यायिक समितिसम्म आउने गरेका कारण वडामै विवाद समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।

उनले भने, ‘महानगरका वडाहरूबाट सामान्य किसिमका विवादहरू समाधानका लागि न्यायिक समितिमा आउने प्रवृत्ति बढी भयो । सबै समस्या समाधानका लागि समय धेरै लाग्ने देखियो । त्यसकारण चाप कम गर्न वडामै समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।’

वडामा खटिने कानुनी व्यक्तिले विवाद समाधान गर्न नसकेको विषयमा महानगरको न्यायिक समितिले समाधान गरिदिने उनको भनाइ छ ।

प्रतिक्रिया