

खप्तड क्षेत्रमा दुई फिटसम्मको हिमपात

डोटी – डोटीमा बिहीबार साँझदेखि वर्षात् शुरु भएको छ । वर्षात् शुरु भएसँगै हिउँँदेबाली सप्रिने भन्दै किसानहरु निकै खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले किसानमा निकै खुशी छाएको छ ।
पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि शुरु भएको छ । बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए ।
खप्तडलगायत यहाँका अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । खप्तड झिग्रानामा छ इञ्च तथा खप्तडमा कम्तीमा पनि दुई फिट जती हिउँ परेको छ । स्थानीयवासीका अनुसार अन्य वर्षको तुलनामा यो वर्ष खप्तडमा निकै थोरै हिउँँ र पानी परेको हो ।
हिमपातका कारण गए राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो । हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका छन् ।
खप्तड घुम्नका लागि अहिले हेलिकप्टरको पनि व्यवस्था मिलाएका कारण खप्तडलगायत यहाँका अन्य पर्यटकीय क्षेत्र बडिमालीका क्षेत्रमा सयौँ पर्यटक घुम्न आएका आएका छन् । हेलिकप्टरको व्यवस्था गरिएपछि अहिले बडिमालिकामा आठ जना तथा खप्तड निकुञ्जमा कम्तीमा पनि १३९ ले अवलोकन भ्रमण गरिसकेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।

