कालिज फार्ममा चितुवा पसेर आक्रमण गर्दा २ जना घाइते, चितुवा मृत फेला


पोखरा – पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।

उनीहरूको अहिले पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको जनाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।

चितुवा मृतावस्थामा फेला परेको उनले बताए । ‘स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको छ,’ डीएसपी जोशीले भने, ‘अहिले चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।’

पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाका कारण २ कालिजसमेत मरेका छन् ।

प्रतिक्रिया