बेनी-जोमसोम सडक निर्माणमा गति लियो


जोमसोम – मुस्ताङ जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) ७६ किमी सडकको निकै अप्ठ्यारो र जोखिमयुक्त स्थान काभ्रेभीरमा सडक धमाधम स्तरोन्नति भइरहेको छ। हिउँदयाममा ठप्प रहेको काभ्रेभीर सडकको काम अहिले आएर तीव्र गतिमा अघि बढाइएको हो।

राष्ट्रिय गौरवका (बेनी-जोमसोम)सडकको दोस्रो प्याकेज अन्तर्गत पर्ने काभ्रेभीर सडकखण्ड मुस्ताङ र म्याग्दीको सीमा क्षेत्रमा पर्दछ।कालिगण्डकी नदीदेखि करिव झन्डै २ सय मिटर अग्लो चट्टाने पहाड फोरेर काभ्रेभीर सडक खण्ड विस्तार गरिएको हो। २०६३ सालमा नेपाली सेनाले यो सडकको ट्र्याक खोलेको गरेको थियो।

सो सडकलाई कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गरिहेको छ। काभ्रेभीर सडक खण्ड मुस्ताङ प्रवेश गर्ने सबैभन्दा बढी जोखिम युक्त सडक हो। यहाँ आयोजना करिव ६/७ मिटर फराकिलो सडक विस्तार गर्दैछ।

म्याग्दीको अन्नपूर्ण-३ र मुस्ताङको थासाङ-४ घाँसाबीचको दुरीमा करिव १६ सय मिटर चट्टान फोरेर सडक फराकिलो पारिँदै छ। सडक स्तरोन्नतिको काम २०७३ असारमा सुरु गरिएको हो। यहाँ हालसम्म ६५ प्रतिशत भौतिक प्रगती भएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए।

सोही निर्माण कम्पनीले जिम्मा लिएको कैकु-कोवाङ सडकखण्डको काम पनि अन्तिम चरणमा रहेको आयोजना प्रमुख प्रजापतीले बताए।

प्रतिक्रिया