ताप्लेजुङमा ‘पोर्टेबल फायर पम्प’ को परीक्षण


ताप्लेजुङ – ‘पोर्टेबल फायर पम्प’ को ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार परीक्षण गरिएको छ। आगलागी नियन्त्रणका लागि उपयोगी हुने उक्त उपकरणको विरेन्द्रचोकमा रहेको पोखरीबाट पानी तानेर टोल टोलमा पुर्‍याएर फोहरा हानिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा मेसिन र पाइप ल्याइएको नगरपालिका प्रमुख अमिर मादेनले जानकारी दिए। करिव १० लाखको लागतमा ल्याइएको सो उपकरणबाट सदरमुकामको विरेन्द्र चोकदेखि टुक्रे, माथिल्लो रोड, कोप्चे लगायतको क्षेत्रसम्म लगेर परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा विरेन्द्रचोकमा रहेको पोखरीको बाहिर पानी तान्ने पम्प राखिएको थियो। पोखरीको पानी पाइपवाट तानेर दोस्रो पाइपको मद्दतले सदरमुकाम पुर्‍याइयो। एक किलोमिटरसम्म पाइप टाँगेर हान्न सकिने भएकाले यो निकै उपयोगी हुने नगर प्रमुख मादेन बताउँछन। यसका लागि विभिन्न क्षेत्रमा पोखरीको भने आवश्यकता देखिएको उनले बताए।

नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा लगायतका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी परीक्षणमा सहभागी थिए। ताप्लेजुङ सदरमुकाम फुङलिङमा धेरै आगलागी हुने गरेको छ। आगलागी नियन्त्रणका लागि भिन्तुनामा पानीको पोखरी बनाइएको छ। यो नेपालमै पहिलो पटक आएको प्रविधि भएको गर प्रमुख मादेनले बताए। आगलागी नियन्त्रणका लागि नगरपालिकामा एउटा दमकल रहेको छ।

प्रतिक्रिया