

कृषि गाउँकी संघर्षशील लक्ष्मी

बाग्लुङ – बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।
विक्रम संवत् २०४० सालमा बागलुङको दक्षिण रांखानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गंगाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीक्षा (एसएलसी) सम्म माइतै बसेर पढ्ने । गंगाबहादुर र उनको परिवारले शर्त मञ्जुर गर्यो र पालना पनि ।
लक्ष्मी र गंगाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका पति गंगाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाले ।
लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुनिन् तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि पतिले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो ।
लक्ष्मीका पतिले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर ‘प्लस टु’ पढ्नका लागि तयार भएर बस्नू भनेर लेखेका थिए । त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन तर पास भने आफू र आफ्ना देवर मात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उनका देवरलाई लिन गंगाबहादुर घर पुगे । ‘प्लस टु’ पढ्न लक्ष्मी पतिसँग कुश्मिसेरा आइन् । त्यो समयमा लक्ष्मीका पतिले ४० हजार रुपैयाँ लगानी गरेर कुखुरा पाल्न शुरू गरेका थिए ।
‘प्लस टु’ पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिइन् । हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन । त्यसपछि लक्ष्मी ९ महिनाको छोरा काखमा च्यापेर पतिसहित बागलुङ बजार आइन् । परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गंगाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै ८ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न शुरू गरे ।
पतिले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गरिन् । कृषक परिवारबाट हुर्किएका गंगाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो ।
आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा पतिले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थालिन् । देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना पति गंगाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुशी मिलेको छ ।
पतिलाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङ मात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्छिन् । ‘डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगें, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचें,’ लक्ष्मी भन्छिन्, ‘परिवारको खुशी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।’
छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गंगाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवा समेत उत्पादन गर्दै आएका छन् । पछिल्लो समय गंगाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्छन् । फार्ममा लक्ष्मीका देवर–देउरानी हेर्छन् । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेकी छन् ।
कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपना मात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ । म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उनको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ ।
लक्ष्मी र गंगाबहादुरले बिजुली पावर हाउसमा तरकारी खेती गर्न शुरू गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ ।

