


धर्मराएको इनिङ सम्हाल्दै भीम सार्की, सन्दीपसँगको उत्कृष्ट साझेदारीसहित बनाए पहिलो अर्धशतक

काठमाडौं – विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अन्तिम खेलमा घरेलु टोली यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन जोडेको छ । भीम ५९ रनमा खेल्दैछन् । ६८ रनमा ५ विकेट गुमाएको अवस्थामा भीमले सन्दीप लामिछानेसँग छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । भीम र आरिफ शेखबीच सातौँ विकेटका लागि ४३ रनको साझेदारी भइसकेको छ। आरिफ २२ रनमा खेल्दैछन् ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमले पहिलो अर्धशतक बनाएका हुन् । नेपालका लागि सन्दीपले २७, कुशल मल्लले ३२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए । आसिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए ।

