होलीमा अप्रिय घटना रोक्न प्रहरी चेकिङमा कडाई


काठमाडौं – आज होली पर्वका अवसरमा हुनसक्ने हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलगायतका गतिविधि हुनसक्ने भन्दै प्रहरीले उपत्यकालगायत देशका सहरी क्षेत्रहरुमा चेकजाँचमा कडाइ गरेको जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखानालगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शालका एसएसपी दीपेन्द्र जिसीले अहिलेसम्म होली शान्तिपूर्ण रहेको र कुनै अप्रिय खबर नआएको बताए ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ ।

त्यसका साथै आजै होली मनाइने पहाडी जिल्लाका प्रमुख सहरहरुमा पनि प्रहरीले चेकजाँचमा कडाई गरेको जनाएको छ । गण्डकी प्रदेशको पोखरामा होलीमा हुनसक्ने दुर्घटनालगायत उच्छृंखल गतिविधि नियन्त्रणका लागि सिर्जनाचोक, चिप्लेढुंगा, लेकसाइडका साथै हेम्जा क्षेत्रमा चेकिङमा कडाई गरिएको जनाइएको छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरुमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया