होलीमा इच्छा विपरीत रंग दले कारवाही


बागलुङ – होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ। आइतबार एक सूचना जारी गर्दै बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले इच्छा विपरीत रंग दले कारवाही गर्ने चेतावनी दिएका हुन्।

प्रशासनले फागु पूर्णिमा (होली पर्व)को शुभकामना दिँदै होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने तथा पानी छ्याप्ने, बाटो ढुकेर बढुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गरी सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ।

प्रशासनले कानून विपरीतका गतिविधिहरू गरेमा वा गराएको पाइएमा कडा कारवाही गर्ने चेतवनी समेत दिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले समेत सभ्य, सुरक्षित र मर्यादित भएर होली मनाउन आह्वान गरेको छ।

प्रहरीले सूचना जारी गरेर होली पर्वको नाममा उशृङ्खल क्रियाकलाप नगरी, सभ्य,शिष्ट, स्वास्थ्यकर र मर्यादित तबरले मनाउन अनुरोध गरेको छ। प्रहरीले अपरिचित मानिसहरूको सहुमका होली नखेल्न र आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आह्वान गरेको हो।

यस्तै लोला, कालो मोसो, केमिकल र फोहोरपानी प्रयोग नगर्न, छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउन प्रहरीले आह्वान गरेको छ।

प्रहरीले रेलिङ नभएको घरको छतमा तथा सडकमा होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गरी आफू बच्न र अरूलाई बचाउन, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान बाटोमा टोरी टागेर चालक तथा सवारी धनीसँग पैसा नमाग्न, भीड हुने स्थानमा पाकेटमार, लुटपाट तथा स्नेचिङ जस्ता घटनाहरू हुने सम्भावना हुने ठाउँमा सावधान रहन प्रहरीले आह्वान गरेको छ।

प्रहरीले होली पर्वलाई सभ्य बनाउन आह्वान गर्दै नियम विपरीत काम गरेमा कानुन बमोजिम सजाय तथा जरिवाना हुने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया