

ए डिभिजन लिगः आर्मी र संकटाले बराबरी खेले

काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलका लागि प्रयास गरे पनि अपेक्षित फिनिसिङ गर्न नसक्दा अंक बाँड्न बाध्य भए।
खेल अवधिभर आर्मीविरुद्ध निरन्तर आक्रमणको प्रयास गरेको संकटाले विभागीय टिमको रक्षापंक्ति छिचोल्न सकेन। संकटाका जुनियर केङ्गेले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।
आर्मीका दिनेश हेन्जनले १९औं मिनेटमा प्रहार गरेको कर्नरमा विभागीय टिम अग्रता लिन चुकेको थियो। दिनेशको कर्नर सन्तोष केसीले नियन्त्रण लिएर दीपक गुरुङलाई मिलाइदिने कोसिस गरेका थिए।
तर, संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा बाधक बन्दा दीपक प्रहार गर्न असफल रहे। संकटाका केङ्गेले ३३औं मिनेटमा गरेको अर्को प्रहार पनि फ्रेममा परेको थिएन। संकटाविरुद्ध निरन्तर दबाबमा परेको आर्मीका गोलकिपर विकेश कुथुले पञ्च आउट गरेको बल क्रसबारमा लागेर बाहिरिँदा साविक उपविजेता आर्मी भाग्यशाली सावित भयो।
आक्रमणको विरलै मौका बनाएको आर्मीका लागि ५०औं मिनेटमा नवयुग श्रेष्ठले हेडरको मौका पाए पनि सदुपयोग गर्न सकेनन्। खेल अवधिभर प्रभावशाली देखिएका संकटाका मिडफिल्डर मनिष डाँडीले ५७औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार बाहिरिएको थियो।
बराबरीसँगै आर्मी र संकटाले एक–एक अंक बाँडेका छन्। गत सिजनको उपविजेता आर्मी पहिलो खेलमा बराबरीमा अल्झिएको थियो। संकटा गत सिजन सातौं भएको थियो।
यस्तै, च्यासल रंगशालामा भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई २-१ को नतिजामा पराजित गरेको छ। सातदोबाटोका लागि दीपकराज ठकुरीले दुई तथा एनआरटी निकोलस सङले एक गोल फर्काएका थिए।
दीपकले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमै सङले बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा दीपकले पुन: गोल गर्दै सातदोबाटोका लागि तीन अंक सुरक्षित गरे।

