

रामचन्द्र पौडेललाई कहिले केहि दिएन भन्ने दिन सकिए : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुँदा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने बताएका छन् । उनले अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको भन्दै उनको प्रशंसा समेत गरे ।
आज (बिहीबार) काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको बताए ।
रामचन्द्र पौडेल पार्टीको सिनियर रहेको र प्रजातन्त्रको स्थायित्वका लागि ठूलो संघर्ष गरेको बताए । उनले त्यही कारण पौडेलले जीन्दगीमा धेरै ठूलो दुःखहरू पनि पाएको बताउँदै देउवाले अघि भने, ‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो, मलाई पनि उहाँको बारेमा सोच्दा खटपट भइरहन्थ्यो । त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्वपूर्ण घडीमा महत्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’ सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे ।

