

रामचन्द्रजी र मसँगै जेल बसेका हौं, उहाँप्रति नकारात्मक छैनः ओली

काठमाडौं – नेपाली कांगेसले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई मत मागेपछि ओलीले आफू नकारात्मक नरहेको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा पत्र लेख्दै नेकपा एमालेसँग कांग्रेस उम्मेदवार पौडेलका लागि मत मागरेपछि एमाले अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताए।
ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो।’
उनले आफूले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेको समेत बताए।
पौडेलले भने, ‘उहाँ (ओली) ले नकारात्मक कुनै कुरा गर्नुभएन। उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो। उहाँप्रति म नकारात्मक छैन भन्नुभयो।’
त्यसो त नेता पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि ओली आफ्नो जेलमा बस्दाको साथी भएकाले फागुन २५ गतेसम्ममा आफूलाई सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए।
नेता पौडेलले भनेका थिए, ‘एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो। राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

