पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षा


काठमाडौं — पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आज (आइतबार) हिउँदे वर्षा भएको छ।

५ महिनापछि आज काठमाडौं उपत्यकामा पानी परेको हो।

जल तथा मौसम पूर्वानुमान विभागकी मौसमविद् विनु महर्जनले पश्चिमी वायुको प्रभावका कारण हिउँदे वर्षा भएको बताइन्।

‘काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी परिरहेको छ,’ महर्जनले भनिन्, ‘यो लामो समय पर्ने पानी होइन। १ देखि २ घण्टासम्म पानी पर्दै सिस्टम क्लियर हुँदै जाने वर्षा हो।’

केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

प्रि मनसुन शुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया