ऐतिहासिक जितको खोजीमा नेपाल, स्कटल्याण्डलाई पराजित गर्दै घरेलु सिरिजमा शतप्रतिशत नतिजा हात पार्ने दाउ


काठमाडौं — घरेलु टोली नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा आज मंगलबार लिग टु विजेता स्कटल्याण्डसँग खेल्दैछ ।

भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो ।

विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफि पाउने छ ।

शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । यदी यो खेल जितेमा नेपालले केही कीर्तिमान बनाउने छ ।

नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ ।

मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । मंगलबारको खेल जितेमा विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।

नेपाली टोलीः
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

 

प्रतिक्रिया