काठमाडौं – एयर इण्डियाले फ्रान्सको एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ।
यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता हो।
‘हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ। आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीले एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने इरादा पत्रमा हस्ताक्षर गरेका छौँ,’ टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गरे।
टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सो धारणा राखेका हुन्। सम्झौतामा ४० ए ३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुनेछन्।
‘हामीसँग माग बढेपछि फ्लीट अर्डरहरू बढाउन महत्त्वपूर्ण विकल्पहरू हुनेछन्,’ चन्द्रशेखरनले भने।
भर्चुअल सम्मेलनमा नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया, वरिष्ठ उद्योगपति रतन टाटा र अन्य नेताहरूसमेतको उपस्थिति रहेको थियो।
‘एयरबसका लागि एयर इण्डियाको पुनरुत्थानको स्क्रिप्टमा मद्दत गर्नु ऐतिहासिक क्षण हो,’ एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले भिडियो सम्मेलनमा भनेका छन्।
एयर इन्डियाले भर्खरैका अर्डरहरूमार्फत आफ्नो आन्तरिक र अन्तरराष्ट्रिय नेटवर्कलाई बढावा दिन विमानहरूको रिमिक्स खोजिरहेको थियो। यस वर्षको जनवरी २७ मा आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एयर इन्डियाले आगामी पाँच वर्षमा आफूलाई भारतीयपन भएको विश्वकै उत्कृष्ट मध्येको एक बन्ने बताएको छ।