

राजनीतिक व्यक्तित्वबाटै राष्ट्रपति बनाउनुपर्छ : जनादर्न शर्मा

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। सत्तारुढ गठबन्धनभित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उनले बताए।
उनले भने, ‘राजनीतिक व्यक्तित्वबाटै राष्ट्रपति बनाउनुपर्छ । राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति एक ढंगले प्रधानमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा देखिएको कुरा पनि हो । राष्ट्रपतिमा जाँदा ती प्रयासहरू हुन सक्छन् । हुँदा राम्रो हुन्छ हामी सबैलाई भन्ने मात्र हो। मुख्यगरी त सरकारसम्बद्ध गठबन्धनले गरेको प्रयासमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।’
त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर साहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताए।

