

अर्को व्यवस्था नभएसम्मका लागि गुलाफ आयात रोकियो

काठमाडौं – सरकारले गुलाफको फूल आयात रोकेको छ। ‘प्रणय दिवस’ मनाउन हरेक वर्ष यो अवधिमा करोडौँ रुपैयाँकाे गुलाफको फूल आयात हुने गरेको थियो। स्वदेशमै गुलाफ उत्पादन गर्ने किसानहरूले भने सरकारसँग आयात रोक्न माग गर्दै आएका थिए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो।
केन्द्रकी प्रमुख साबित्री बरालले देशभरका विभिन्न १५ वटा क्यारेन्टाइन कार्यालयहरूलाई आज पत्र पठाई यस्तो निर्देशन दिएकी हुन्।
काँकडभिट्ट, भन्टाबारी, विराटनगर, मलंगवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थांग र बैतडी क्वारेन्टाइन कार्यालयलाई त्यस्तो निर्देशन दिइएको हो।
‘उपरोक्त सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयात गर्नका लागि आयात अनुमतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।

