

माओवादीको कार्य विभाजन, केन्द्रीय कार्यालय प्रमुखमा पुनले पाए निरन्तरता

काठमाडौं – नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।
वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।
२०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

