

पदयात्रीलाई गुणस्तरीय सेवा

रसुवा – हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको भएको छ ।
दोस्रो ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन सुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा’ मर्मत अगाडि बढेको हो ।
विशेष गरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन सुरु हुन्छ । हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मंसिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दा समेत हिमपात नभएको र फागुनमा पर्नसक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’
असोज, कात्तिक, मंसिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँकुण्ड, लाङ्टाङ एवं तामाङ सम्पदामार्गको गतलाङ, नाकथली, थुमनलगायतका क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्ने गरेको बताइएको छ । यस दोस्रो सिजनअन्तर्गत आन्तरिकरूपका मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ ।
पर्यटकका लागि धुञ्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङ्टाङका लागि ठूलोस्याफ्रु, बम्वो, लामाहोटल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनलगायतका स्थानमा सयाँं होटल सञ्चालित रहेका छन् ।
पश्चिम लाग्दा तामाङ सम्पदामार्ग र पूर्व लाग्दा लाङ्टाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ । तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे रहेका छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीयस्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए ।

