

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, अर्याल एक्ली उम्मेदवार

काठमाडाैं – राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ ।
संघीय संसद सचिवालयले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार आज निर्वाचन कार्यक्रम रहेको छ । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् ।
उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुने भएकी हुन् ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर अर्यालले आइतबार उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ ।
लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त छ।

