

रोकिराखेको ट्रकमा बस ठोक्कियो, १ को मृत्यु, २ घाइते

रुपन्देही — रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्।
बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा तनहुँ भिमादका एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ। दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।
दुर्घटनामा परि तनहुँको भिमादका हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणीका बासु घिमिरे र सोही ठाउँका दिपेश घिमिरे घाईते भएका छन्।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडकखण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ।

