
सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै छट्पटाइरहेको छ : केपी ओली
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका छन्।
प्रतिनिधिसभाको आज (आइतवार) बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस सत्तामा जान नपाएर पानी विनाको माछा जस्तै छट्पटाइरहेको बताएका हुन् ।
पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार गठन गरेदेखि कांग्रेसमा छटपटी भएको बताएका छन् । ‘मंसिर ४ को निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन सकेन’, उनले भने, ‘त्यहीकारण मैले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर यो सरकार बनाएका हौँ । यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ।’
उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिए । पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोडेर उनले यस्तो बताएका हुन् ।
‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन’, उनले भने, ‘अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानीबाहिरको माछा जस्तै भएको छ।’



कागजपत्र |
