नेविसंघ अध्यक्ष शेर्पाको एकलौटी निर्णय बदर गर्न इतर नेताको चेतावनी, तुरुन्त अधिवेशन गराउन माग


काठमाडौं – माउ पार्टी नेपाली कांग्रेसमा जस्तै भातृ संगठन नेपाल विद्यार्थी संघमा पनि संस्थापन र इतर समूहबीच तिक्तता बढेको देखिएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रूपमा जिल्ला तथा क्याम्पस समिति गठन गरेको भन्दै इतर समूहका विद्यार्थी नेताहरूले विरोध गरेका छन् ।

मंगलबार महाधिवेशन पक्षधर समूहका नाममा विज्ञप्ति जारी गर्दै उनीहरूले अध्यक्ष शेर्पाले गरेका केही निर्णयहरु बदर गरेर विधिवत् अधिवेशनको वातावरण बनाउन माग गरेका छन् ।

नेपाल विद्याथी संघको विधान २०२७ को सातौँ संशोधन, २०७५ को धारा ३१, ३४ र २०७८ फाल्गुण ३ गतेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकूल हुने गरी विभिन्न जिल्ला कमिटीहरू र क्याम्पस कमिटीहरूमा एकपक्षीय र गुटगत रूपमा गठन गरिएका नियुक्तिहरू पूर्णतया विधानविपरीत भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरूमा विधिवत् रूपमा प्रतिनिधि खटाई अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इतर समूहका विद्यार्थी नेताहरूले विधि र विधानविपरीतका गतिविधि बन्द नगरे जस्तोसुकै मूल्य चुकाउन बाध्य हुने र त्यसको जिम्मेवार पार्टी र नेविसंघको नेतृत्व हुने चेतावनी दिएका छन् ।

स्ववियु निर्वाचन घोषणा भइसकेको अवस्थामा पनि संघको पूर्णता नुहुन संगठनका लागि घातक सिद्ध भएको उनीहरुले ठहर गरेका छन् । उनीहरूले आउँदो चैत ५ गते  स्ववियु निर्वाचन घोषणा भइसकेको अवस्थामा संघले कहिले पूर्णता पाउँछ भन्दै प्रश्न उठाएका छन् ।

प्रतिक्रिया