देवशिला जनकपुरबाट अयोध्यातर्फ लगिँदै


जनकपुरधाम  – भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशिला सोमबार बिहान अयोध्या पठाइएको छ। शिला आज गोरखपुरमा राखिनेछ ।

मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाई, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पठाइएको छ । जनकपुरबाट भारतको मुजफ्फरपुर–गोरखपुर हुँदै दुवै शिला बुधबार अयोध्या पुग्नेछ ।

यसअघि आइतबार साँझ धार्मिक विधिअनुसार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र उनकी पत्नी अनामिका निधिले दुवै देवशिलाको पूजा गरेका थिए । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत सहभागी छन् ।

जनकपुरबाट प्रस्थान गरेको शिला सोमबार मुजफ्फर पुर्‍याएपछि त्यहाँ स्थानीयले स्वागत तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। मंगलबार बिहान दुवै शिलासहितको टिम गोरखपुर प्रस्थान गर्ने कार्यक्रम छ । गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्नेछन् ।

शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमापूजा गरिएको थियो । म्याग्दीको बेनी नगरपालिका– ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो । १८ र १६ मेट्रिकटन तौल भएका शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका छन् ।

प्रतिक्रिया