कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपतिः महामन्त्री शर्मा


इलाम – नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्।

उनले कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नेमा विश्वास व्यक्त गरे। इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को भन्ने बारेमा शर्माले विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।

‘अहिले मैले फलानो फलानो भनेर नाम भन्नु उचित हुँदैन्। एक सय एक योग्य नेतृत्व हामीसँग उपलब्ध छ अनुभवी नेतृत्व छ। जसले संविधानको रक्षाको लागि शितल निवासमा बसेर राष्ट्रपति निवासमा बसेर बढो शितल ढंगले सोचेर राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर संविधानको संरक्षण गर्ने हामीसंग एक दर्जन नेताहरु उम्मेदवारको रुपमा हुनुहुन्छ। त्यसले गर्दा म काठमाडौ फर्किएपछि बैठक बस्छौ। र, सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ।’

उनले कांग्रेस एक्लैलेभन्दा पनि सवैदलको साझा सहमतीबाट देशले योग्य राष्ट्रपति पाउने बताए। उनले कांग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसंग समेत छलफल अघि बढाइने बताए।

‘हामीले नै छलफल गरेर टुङ्ग्याउन गणित पुग्दैन्। २५–२६ हजार मतभार चाहिन्छ हामीसँग केबल १६ हजार मतभार छ। १६ हजार मतभारमा अरु दलको पनि मतभार गाँसेर जाँदै गर्दा छलफल र बिमर्शपछि उम्मेदवार टुङ्ग्याउन बढि उचित हुन्छ। अहिले इलामको डाँडामा बसेर उम्मेदवार भन्न थाल्यो भने पनि परिपक्वता हुँदैन्। कांग्रेसले समर्थन गरेर अघि सार्ने उम्मेदवार नै देशको राष्ट्रपति बन्नुहुन्छ, यति चाहि किटानी गरेर भनिराख्छु,’ उनले भने ।

प्रतिक्रिया