

काँग्रेस केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित

काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए।
माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। काँग्रेसले के कारणले केन्द्रीय समिति बैठक स्थगित गरेको हो खुलाएको छैन।
गत मंसिरमा भएको चुनावपछि चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको थियो। गठबन्धन जोगाउन नसकेको आरोप सभापति शेरबहादुर देउवामाथि छ।
काँग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्ता महत्त्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन। केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्त्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।
काँग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो। त्यसअघि काँग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो।

