

कर्णालीमा आज मन्त्रिपरिषद बिस्तार गर्दै मुख्यमन्त्री, को-को बन्दैछन् त मन्त्री ?

सुर्खेत – कर्णाली प्रदेशमा नयाँ मन्त्रीहरूको टुंगो आज लाग्दैछ ।
सत्तारुढ दलको मंगलबार बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ आज हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा मन्त्रीमण्डलले पूर्णता पाउने भएको हो ।
मन्त्रालयको भागवन्डा टुंगो लागेसँगै कुन दलबाट को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा हुन थालेको छ । माओवादीबाट सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका भीमप्रकाश शर्मा र डोल्पाकी उर्मिला विश्वकर्मा मन्त्रीका लागि सम्भावित व्यक्ति हुन् ।
त्यस्तै नेकपा एमालेले प्रदेश अध्यक्ष समेत रहेका विनोद कुमार शाहलाई विना विभागीय मन्त्री बनाइसकेको छ भने । थप दुई जनालाई बुधबार नियुक्त गर्ने भएको छ । एमालेबाट जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र डोल्पाका शेरबहादुर बुढा मन्त्रीका लागि सम्भावित छन् ।

