

राप्रपाले टुंग्यायो मन्त्री, पूर्व आईजी प्रधानलाई कानुन मन्त्रालय

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने छन् ।
सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् । पूर्वप्रहरी महानिरीक्षक (आईजी) समेत रहेका प्रधान नवलपरासी पश्चिमबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
सुरुमा प्रधानलाई सहरी विकास मन्त्रालय भनिएको थियो । तर पाण्डेले युवा तथा खेलकुदमा जान चाहेनन् । राप्रपा र एमालेबीच मन्त्रालय साटफेर भएको छ । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकासमन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए ।
राज्यमन्त्रीमा दीपक सिंहको सम्भावना छ ।

