

पल शाहविरुद्धको मुद्दाको सुनुवाइ हुँदै, आजै फैसला आउने !

तनहुँ – बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहविरुद्धको मुद्दामाथि आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहविरूद्धको पटक-पटक पेसी तोकेर स्थगन हुँदै आएमा आज सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
तनहुँ अदालतबाट आज शाहलाई सफाइ दिने वा कैद सजाय तोक्ने फैसला हुने अनुमान गरिएको छ ।
बलात्कारकै अभियोग लागेको मुद्दामा क्रिकेट खेलाडी सन्दीप लामिछाने धराैटीमा रिहा भइसकेका छन् ।
लामिछानेको भन्दा शाहको मुद्दामा केही सरल रहेकोले जिल्ला अदालत तनहुँले शाहलाई पनि आज न्यूनतम धराैटीमा छाड्ने दाबी एक कानुन व्यवसायीले गरेका छन् । उनले भनेका छन्, ‘उच्च अदालतले यो भन्दा जटिल प्रकारको मुद्दामा त धराैटीमा छाडेको छ, यस मुद्दामा त पीडित भनिएकी युवतीले नै अभियोग झुठो भएको बयान अदालत समक्ष दिइसकेकी छिन्, मैले नै भन्ने हो भने त पललाई विनाशर्त रिहा गरिनुपर्छ ।’

