

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक आज दिउँसाे बस्दै

काठमाडाैं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) दिउँसाे बस्दै छ। यसअघि बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ। प्रतिनिधि सभाको विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्ष आन्दोलनरत छ भने विभाजित दुवै पक्षले निर्वाचन आयोगमा पार्टीको नाम र चुनाव चिह्न सूर्यमा दाबी गरेका छन्।
अहिले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–नेपाल पक्षले जुन प्रक्रियाबाट पार्टी र चुनाव चिह्न दाबी गरेका छन् आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेको छ। आयोगले गत साता नेकपाको अहिलेको अवस्थामा कुनै हेरफेर गर्न नमिल्ने र ओली र प्रचण्ड नै पार्टी अध्यक्ष कायम रहेको जवाफ दिएपछि नेकपा विभाजनले कानुनी मान्यता पाएको छैन।

