

पृथ्वी जयन्तीको दिन विदा दिने निर्णयमा उपेन्द्र यादवको विरोध

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्तीमा सरकारले विदा दिनु जनआन्दोलनको भावना र मर्म विपरीत भएको बताएका छन्।
मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरूमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।
यादवले आज सामाजिक सञ्जालमा लेख्दै राजतन्त्रात्मक निरङ्कुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका हुन्।
उनले यो कार्यले सहिदहरूको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने दाबी गरेका छन्। सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो।

