

निर्वाचन आयोगको एउटा निर्णयले प्रचण्ड–नेपाल समूहलाई महासचिव चयन विवादमा राहत

काठमाडौं– निर्वाचन आयोगले हालै गरेको एउटा निर्णय र त्यसको पत्रका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहभित्र रहेको एउटा किचलोमा तत्कालका लागि राहत भएको छ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई अर्को अध्यक्षमा ल्याएको उक्त समूहमा महासचिव को बन्ने भन्ने विवाद थियो। महासचिव चयनमा विवाद रहेका कारण निर्णय हुन सकेको थिएन। तर, निर्वाचन आयोगले नेपाललाई पनि अध्यक्ष मान्न नसकिने भन्दै नेकपाको अध्यक्षमा ओली र प्रचण्ड तथा महासचिवमा विष्णु पौडेल नै कायम रहेको पत्र दुवै समूहमा पठाएको थियो।
‘पार्टी एकीकरणको बेलाकै पदाधिकार रहने र त्यसमा प्रमुख पदाधिकारी ओली नै रहने विषयको पत्र आयोगले दिएको थियो। उसले महासचिव पौडेलले दुवै अध्यक्षको सहमतिमा नै पार्टीको बैठक गराउनुपर्ने निर्णय गरेको थियो’, नेकपाका एक नेता भन्छन्,‘आयोगको यो निर्णयका कारण तत्काल प्रचण्ड–नेपाल समूहको महासचिवको किचलोमा राहत त भएको छ तर बढ्न सक्छ।’
५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजनको अवस्थामा पुगेको थियो। निर्वाचन आयोगमा आधिकारिकताको दाबेदारी गर्दै प्रचण्ड नेपाल समूहले अर्को अध्यक्ष चयन गरेको पत्र समेत बुझाएको थियो। तर महासचिवका लागि भने विवाद कायमै रहेको थियो।
उक्त समूहको महासचिवका लागि भिम रावल, सुरेन्द्र पाण्डे, जनार्दशन शर्मा, बर्षमान पुनसहित घनश्याम भुसाल पनि दौडका थिए। यी नेताको महासचिव बन्ने महत्वकांक्षा र विवादका कारण कुनै टुंगो लगाउन नसकेको उक्त समूहले अहिले पदाधिकारीको विषयलाई थाँती राखेर सरकारविरुद्धको आन्दोलनलाई प्राथमिकता दिएको छ।
नेपाल नेता पाण्डे र रावल मध्ये एक जनालाई महासचिव बनाउने पक्षमा छन् भने पूर्वमाओवादीले महासचिव चोइटिएको पूर्वएमालेलाई दिन नहुने प्रचण्डलाई सुझाव दिँदै आएको थियो।

