

सम्मानमा पनि खुल्न नसकेको माधव नेपालको अनुहार !

काठमाडौं – एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालले बुधबार प्रतिनिधिसभा र प्रदेशसभामा विजयी आफना सांसदहरुको सम्मान कार्यक्रमको आयोजना गर्यो ।
ललितपुरको एक होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहित प्रतिनिधिसभा र प्रदेशसभामा जित हात पारेका प्रदेशसभा सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
सम्मानका साथ खादा र माला लगाएका पार्टी अध्यक्ष कुनै पनि बेला खुशी भने देखिएका थिएनन् । पार्टीले थ्रेसहोल्ड समेत नकटाएपछि चिन्तित बनेका माधव नेपालको असन्तुष्टि उनको अनुहारमा प्रष्टै देखिन्थ्यो । सम्मानपछि नेपालले आफ्नै कमजोरीले निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारे समेत गरेका छन् ।
तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने बताए ।
पछिल्लो समय एमालेको बलबुतामा गठन भएको प्रचण्डको सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय गर्न नसकिरहेको एकीकृत समाजवादी बडो दोधारमा देखिएको छ । माधव नेपालबाहेकका नेता तथा कार्यकर्ता एमालेमा बिलिन हुन तयार देखिए जस्ता अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् बेलाबखत ।
एकीकृत समाजवादीकी प्रभावशाली मानिएकी रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई पार्टीभित्रै विरोध गरिएको छ । कारबाहीका लागि माग समेत गरिएको अवस्था छ । उता निर्वाचनमा हार ब्यहोरेका झलनाथ खनाल जसरी भए पनि राष्ट्रपति भन्ने ध्याउन्नमा रहेको सार्वजनिक रुपमै भनिसकेका छन् ।
एमाले अध्यक्ष केपी ओलीसँगको बैचारिक द्वन्द्वलाई आत्मसाथ गर्न नसकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथमा पार्टी फोडेर सत्ताको साँचो लिने माधव नेपालसमूहको सपना भताभुंग बनेको अहिलेको अवस्थामा सरकारमा गएर पार्टीको अस्तित्व बचाउने कि के गर्ने भन्नेमा अन्योल रहेको छ ।
यदि सरकारमा नगएर प्रतिपक्षीकै रुपमा रहेको खण्डमा आगामी ५ वर्षसम्म पार्टीले संगठन विस्तार गर्न सक्छ वा पार्टीकै भविष्य संकट पर्छ कि भन्ने त्रास पनि एकीकृत समाजवादी नेतृत्वलाई परेको एक नेता बताउँछन् ।
भातृ संगठनको निर्णयलाई मान्दै सम्मान ग्रहण गर्न आइपुगेका अध्यक्ष नेपाललाई अहिलेको सम्मानको खुशीभन्दा पनि पार्टीको भविष्यप्रतिको चिन्ताले सताएको कार्यक्रमस्थलमा रहेका एक नेता बताउँछन् ।

