

पछिल्लो राजनीतिक अवस्थाबारे पत्रकार सम्मेलन मार्फत् धारणा सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएका छन् ।
साथै उक्त अवसरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्ने जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
मुख्य सचिव पौडेलले भने, ‘चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभयो, नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्नुभयो भनेर धन्यवाद दिने कार्यक्रम पनि छ ।’

