सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता


काठमडाैं – भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ ।

गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।

आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेणु दाहालले बताइन् ।

स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो । यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उनको भनाइ छ ।

आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो ।

 

प्रतिक्रिया