

डोटी र अर्घाखाँचीमा ६० वर्षीय दुई वृद्ध वृद्धा मृत फेला

धनगढी – डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।
कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् । शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।

