

गुल्मीकी ११२ वर्षीय ‘जम्दार्नी आँबै’को निधन

रुपन्देही – गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ च्युरेक ढाडाबाट निवासी ११२ वर्षीय इन्द्रकुमारी सुवेदीको निधन भएको छ । गाउँमा उनी जम्दार्नी आँबै उपनामले परिचित थिइन् । उनी सो क्षेत्रमा सबैभन्दा जेठो उमेरकी थिइन् ।
उनले केही वर्षअघि आफ्नै छोराको चौरासी पूजा गराएकी थिइन् । स्थानीयले उनलाई छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी जम्दार्नी आमा भन्दै आएका थिए । पुस १५ गते जम्दार्नी आँबै इन्द्रकुमारी सुवेदी एकको एक सय १२ वर्षको उमेरमा निधन भएको स्थानीय यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
आँबैका श्रीमानको भने ३० वर्ष अगावै मृत्यु भएको उनले बताए । जम्दार्नी आँबैका जेठा छोरा धनबहादुर सुवेदी क्षेत्रीको चौरासी पूजा इन्द्र कुमारी सुवेदी क्षेत्रीले गएको असारमा गराइदिएकी थिइन् । उनले त्यो समयमा अझै दुई छोराको चौरासी पूजा गराइदिने बताए पनि त्यो उनको सपना भने अधुरो रहेको स्थानीयको भनाइ छ ।
विक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीरबहादुर क्षेत्रीकी जेठी छोरीको रूपमा जन्मेकी इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएको थियो ।
भारतको ९ जिआरमा भर्ती भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारको दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारी जम्दार्नी आँबैका नामले परिचित बनेकी हुन् । उनका तीनभाई छोराबुहारी, नातिनातिना, पलाँति खलाँति गरी चार दर्जन परिवार सदस्य छन् ।
जेठा छोरा धनबहादुर र बुहारी तुल्सा सुवेदीसँग बस्दै आएकी जम्दार्नी आँबैले सबैलाई उत्तिकै माया गर्ने गर्थिन् । जम्दार्नी आँबैले सो क्षेत्रका हरेक सामाजिक विकासमा सहयोग पुर्याउँदै आएकी थिइन् । स्कुल, मठमन्दिरमा उनले सधैँ सहयोग गर्ने गरेकी थिइन् ।
दुई वर्षअघि ठाडाबाटमा खानेपानी नभएपछि उनले सरकारसँग खानेपानीको माग गरिन् र उनको आवाज मिडियामार्फत सार्वजनिक भएपछि त्यो क्षेत्रमा एकघर एकधाराको व्यवस्था भएको छ ।

