कम्बोडियाको क्यासिनोमा आगलागी : नेपालीसहित २६ जनाको मृत्यु


कम्बोडिया – कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म २६ पुगेको पुष्टि गरिएको छ ।

थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बिहिबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताए । आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उनले पुष्टि गरे ।

उनले भने, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।” होटल–क्यासिनोको जटिल लेआउट र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उनले बताए ।

कम्बोडियाका आपतकालीन टोलीले शुक्रबार साँझ रात परेपछि आफ्नो उद्धार प्रयास अन्त्य गरिएको बताउँदै किमले भने, ‘टोलीले परिसरको सबै भागमा खोजी गरेको थियो ।’ आफ्नो उपनाम मात्र दिएका ४२ वर्षीय थाई क्यासिनो कामदार नेउङले दुई महिलालाई भाग्न सहयोग गरेपछि होटलको कोठामा आफ्नो बुबाको मृत्यु भएको बताए । उनले भने, ‘उनीहरूलाई सहयोग गर्न उनले धेरै ऊर्जा प्रयोग गरे तर आफु भने धुवाँले निस्सासिएर बिते ।

उनले एएफपीसँगको कुराकानीमा भने, ‘अब म उनको शवको प्रतीक्षामा मात्र रहेको छु । घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए । थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए ।

थाइल्याण्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । कम्बोडियाली अधिकारीहरूले होटल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रतिक्रिया