

मधेसमा सरकार बनाउने विषयमा सहमति भएको छैन : रघुविर महासेठ

जनकपुर – नेकपा एमालेले मधेस प्रदेशमा सरकार बनाउने विषयमा कुनै सहमति नभएको दाबी गरेको छ। मधेस प्रदेश इन्चार्ज रघुविर महासेठले सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ दलहरूबीच कुनै सहमति नभएको बताएका हुन्।
जनकपुरमा शुक्रबार एमालेबाट निर्वाचित सांसहरूलाई बाधइ दिँदै पार्टी सचिवसमेत रहेका महासेठले सरकारको नेतृत्वमा एमाले दाबी रहेको बताए। मधेसमा एमाले पहिलो पार्टी भएको भन्दै उनले सरकार नेतृत्वको अवसर एमालेले पाउनुपर्ने दाबी गरेका थिए।
‘मधेसमा एमाले २३ सिटसहित पहिलो हो। जसपाको १६ सिट र जनमतको १३ सिट रहेको छ। मधेसका जनताले पनि एमालेको सरकार चाहेको छ,’ महासेठको भनाइ उद्धृत गर्दै एमालेका एक प्रदेश सांसदले भने।
यसैबीच मधेस प्रदेशमा एमालेको संसदीय दलको नेता छान्न सकस देखिएको छ। दलको नेतामा आकांक्षी धेरै भएपछि नेता छान्न गाह्रो भएको देखिएको छ। दलको नेतामा एमालेका राजकुमार लेखी, सरोज यादव र रामचन्द्र मण्डल आकांक्षी छन्।
बिहीबार दलको नेता छान्न बैठक डाकिए पनि तयारी नपुगेकाले स्थगित गरिएको थियो। दलको नेता छान्न प्रदेश इन्चार्ज महासेठ जनकपुरमै बसेर गृहकार्य गरिरहेका छन्।

