ओली र प्रचण्डबीच सरकारको भावी नीतिबारे छलफल, भोली फेरि बालुवाटारमा थप छलफल हुने


काठमाडौं — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज (बुधबार) भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो’, मल्लले भने ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनीहरुबीच छलफल भएको मल्लले जानकारी दिए । ‘सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो’, उनले भने ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए । सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ । सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेको जानकारी दिँदै उनले उक्त क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेको जानकारी दिए ।

प्रतिक्रिया