काठमाडाैंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस


काठमाडाैं – काठमाडाैं उपत्यकाको तापक्रम घटेसँगै आज मङ्गलवार बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडाैं उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो ।

हिजाे साेमवार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकतम तापक्रम पनि घट्ने क्रममा रहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसाे भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया