


ति कायर शेरबहादुर नै हुन् भने गगन थापाजी यी प्रश्नका उत्तर दिनुहोस्

–नेपथ्य
नेपाली कांग्रेसका युवा नेतामा वाक कलामा अलिकति अगाडि भए पनि गगन थापाको राजनीतिक उदय विद्रोही युवाका रुपमा नै भएको थियो। नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पसको राजनीतिबाट उदाएका उनी तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको नजरमा कहिले पनि सकारात्मक वा ओजनदार नजरमा परेनन्। उनले कोइरालासँग विद्रोही व्यवाहार गरे कांग्रेसभित्र।
त्यसबेला उनलाई हालका सभापति शेरबहादुर देउवा पक्षका मानिन्थ्यो। हुन पनि हो, शेरबहादुरको वकालत गर्दै कांग्रेस राजनीतिभित्र उनले उदयको मार्ग तय गरे। संविधानसभामा शेरबहादुरकै सिफारिसमा उनको आगमन भयो। राजनीति हो, विद्रोहको स्वभाव कहाँ जान्छ र? आफ्नो उदयका लागि जम्मा दुई चिजलाई उनले सँधै हतियारका रुपमा प्रयोग गरेका दृष्टान्त छन्। उनी वाककला भएका क्षमतावान् हुन् तर क्षमताले मात्र परम्परागत राजनीतिमा उदय कहाँ सजिलो हुन्छ र? जसरी कृष्णप्रसाद सिटौलालाई गिरीजाले च्याप्दा उनको छायाँमा परेका विश्वप्रकाश शर्मा जस्ता नेताको उदय हुन समय लाग्यो। त्यसबेला गगन शेरबहादुरको कित्तामा थिए। मौका पाए।
समीकरण बदलिन्छन्। त्यो पनि नीजि उदयका लागि नै हुन्। कालान्तरमा आयो १३ औं महाधिवेशन। त्यसअघि नै अर्जुननरसिंह केसीसँग पारिवारिक सम्बन्ध गाँसेका उनलाई कांग्रेसमा उदय हुनका लागि अब अलिक सहज भएको थियो। यो महाधिवेशनमा शेरबहादुर वा रामचन्द्र पौडेलको जीत निस्कन नसक्ने मुल्यांकन गरेपछि सिटौलाको क्याम्पमा गगनको प्रवेश भयो। यहाँ उनले शेरबहादुरसँग विद्रोह गरिदिए, राजनीतिक समीकरणीय रुपमा।
सिटौला सभापति र गगन महामन्त्रीका उम्मेदवारका रुपमा कांग्रेसको तेस्रो धारका रुपमा उभिए। बिजय नभए पनि बार्गेनिङ शक्तिको खेमामा गगनको उपस्थिति प्रभावशाली भयो। यसै कारण कांग्रेस महाधिवेशनको पहिलो चरणमा सभापति डिक्लियर हुन सकेन। आखिर बार्गेनिङको परिणाम त देखियो। सिटौलाले दोस्रो चरणमा शेरबहादुरसँग सहकार्य गरिदिए।
शेरबहादुरसँगको सहकार्यको उपजमा सिटौला समूहबाट गगनले पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा स्वास्थ्यमन्त्री हुने अवसर पाए। कामका कुरा त्यस्तै हुन्, बेकामका हर्कतमा उनका हस्ताक्षरले स्थान पाए। जस्तो सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा महाअभियोग लगाउने प्रस्तावमा गगनको हस्ताक्षर दरियो।
यो साधारण पृष्ठभूमी एकातिर छन्। तर गगनका लागि प्रश्नका झटारा धेरै छन्। देशको लोकतन्त्र र प्रणाली जोगाउनका निम्ति आन्तरिक पार्टी लोकतन्त्र र प्रणालीको जग बलियो हुनुपर्छ। तर नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र र विधानको असल उपयोग र कार्यान्वयन भएको छ त? यहि मूल प्रश्नभित्र छन् अन्य प्रश्न।
गगन थापाले मच्चिएर अहिले प्रतिनिधि सभा विघटनको विरोध मात्र गरेका छैनन्, संविधान नै मासिएको तर्क गरिरहेका छन्। अहिलेसम्म जम्मा प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा भएको छ, अन्य कुनै पनि प्रकरणले प्रस्थान पाएको छैन। यसको विरोधका क्रममा उनले नेपाली कांग्रेसका नेता जसले अदालतको व्याख्या कुरौं भनेका थिए तिनलाई कायरको संज्ञा दिए।
यस्तो अभिव्यक्ति दिने कांग्रेसका अन्य नेता पनि छन् तर सबैभन्दा पहिलाचाहिँ उनकै सभापति शेरबहादुर देउवा हुन्। त्यसो भए प्रश्न तेर्सिन्छ के सभापति देउवा कायर हुन्? त्यहि भन्न खोजेको हो भने केही प्रश्न छन्।
अहिले सडकमा मच्चिएर आफ्नो कदको परिचय दिने होइन, तपाईँ साँच्चै कायरविरुद्धको आवाजमा पनि उत्रिएको हो भने वीपीको कार्यकर्ताले कांग्रेसको विधान मिच्दा किन बोल्न सकेन? बोल्यो रे, किन सच्याउने दबाब दिन सकेन?
त्यहि कायरलाई होइन १३ औं महाधिवेशनको दोस्रो चरणमा भोट हाल्ने तपाईँका ति हातहरू, सभापति जिताउनुपर्छ भन्ने ति मस्तिष्कहरू किन तयार भए? यी प्रश्न पनि त तपाईबाट भाग्न पाउने छैनन्। उत्तर दिनुहोस्। तपाईँतिर फर्किएका छन् प्रश्नहरू।
विधान मिचेर विभागहरू गठन भएका छन्। त्यो सच्चियो? सच्याउनुभयो? विधान मिचेर तपाईको राजनीतिक कदको विस्तार गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता सानेपातिर यसै साता प्लेकार्डसहित पुगेका थिए। त्यो सच्याउने काममा तपाईको योगदान कति रह्यो? कति सच्चियो?
आफ्नो दलको साधारण विधान सच्याउन नसक्नेले संविधान मिचियो भनेर अदालतलाई तर्साउने? अदालतको व्याख्या कुर्छु भन्दा तपाई सडकबाट ललकार्ने सर्वोच्च अदालतभन्दा माथि हो? ताकत र क्षमता भए पार्टीको बैठक डाक्नुस् र कायरलाई मनाउनुस्, तानाशाही आयो संयुक्त आन्दोलनमा जाऔं। शान्ति बाटिकामा मौन रहेका गणेशमानसिंहको शालिकमुनि उभिएर हुंकार नछाड्नुहोस्। कि, प्रचण्डको क्याबिनेटमा मन्त्री हुँदाको गुण तिरेको?

