

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं – नेपालमाथि सहज जित हात पार्दै घरेलु टोली बंगलादेश बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट १५-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा एक समय १४-११ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २२-२५ ले सेट गुमाउन पुग्यो । तेस्राे सेटमा निरिह बनेकाे नेपालले १३-२५ ले गुमाउन पुग्याे ।
यससँगै नेपालले बंगलादेशसँग यस च्याम्पियनसिपमा दोस्रो पटक हार बेहोरेको छ । राउन्ड रोविन लिगमा पनि नेपालले ३-० कै सोझो सेटमा हार बेहोरेको थियो ।
अब बंगलादेशले उपाधिका लागि सोमबार किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानले आइतबारै श्रीलंकालाई २९-२७, २५-२१ र २५-२० को सोझो सेटमा हराएर उपाधि नजिक पुगेको छ । बंगलादेशसँग पराजित नेपालले तेस्रो स्थानको लागि सोमबारै श्रीलंकासँग खेल्नेछ ।

