

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।
सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत अन्य दलका शीर्ष नेताहरुबीच लगातार अलग–अलग र संयुक्त बैठक हुँदै आएपनि सहमति हुन नसकेपछि बालुवाटारमा जारी गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष ओली निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन ओली सहमत भएका हुन् ।
गठबन्धनमा माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि माओवादीले एमालेसँग संवाद थालेको हो ।

