आर्मीका महतारालाई व्यास अल्ट्रा दौडको उपाधि


तनहुँ – शहीद दिवसको अवसरमा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित व्यास अल्ट्रा दौडको उपाधि देवराज महताराले जितेका छन् । । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट भएको दौड व्यास–८ पुलिमराङमा पुगेर टुंगिएको थियो ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २५ वर्षिय महताराले ४४ किलोमिटरको दुरीलाई ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । गत पुस २७ गते तनहुँको ऋषिङमा आयोजित अल्ट्रा म्याराथनमा महताराले सान्त्वना पुरस्कार जितेका थिए ।

ऋषिङ म्याराथनमै तेस्रो स्थानमा चित्त बुझाएका सोलुखुम्बुका सुमन कुलुङ राई भने ४४ किलोमिटरको अल्ट्रा दौडमा भने दोस्रो स्थानमा रहेका छन् । राईले ३ घण्टा ८ मिनेट १ सेकेण्डमा दौड पुरका गरेका थिए । नेपाली सेनाको त्रिभुवन आर्मीकै धावक बेदबहादुर सुनुवारले तेस्रो स्थानमा आए ।

उनले दौड ३ घण्टा १० मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । उनी पनि ऋषिङ अल्ट्रा म्याराथनमा भने सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । धावकहरुले विभिन्न ८ वटा विन्दुलाई पार गरेर दौड पुरा गरेका व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

विजेता महताराले ८५ हजार ७७ रुपैयाँ नगद राशीको पुरस्कार थापे । सोलुका राईले ६५ हजार ७७ रुपैयाँ र आर्मीकै धावक सुुनुवारले भने ५५ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी ५ जना धावकले सान्त्वना पुरस्कार प्राप्त गरे । भोजपुरका धावक सविन तामाङ, बैतडीका धावक नरेन्द्रसिंह राउत, रुकुमका दुर्गराज बुढा, व्यास–६ तनहुँका प्रमेश गुरुङ र गोरखाका सक्सुनराज गुरुङले सान्त्वना पुरस्कार स्वरुप नगद १६ हजार ७७ रुपैयाँ प्राप्त गरेका थिए ।

पुरस्कार राशी गतवर्षभन्दा केही बढाइएको हो । व्यास नगरपालिकाले विगत चारवर्षदेखि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राख्दै व्यास म्याराथन आयोजना गर्दै आएको छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले म्याराथनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । दौडमा १६९ जना धावकको सहभागिता रहेको थियो । धावकहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया