शपथमा नेपाली पोशाक लगाएर उपस्थिति हुन एमालेको सर्कुलर


काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुलाई भोली अर्थात् बिहीबार दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले शपथ ग्रहण गराउँदैछन् ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।

‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ ।  नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदैछन् ।

प्रतिक्रिया