आज राष्ट्रपतिबाट सांसदको शपथ लिँदै पशुपतिशम्शेर जबरा


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ खुवाउने भएकी छिन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार (आज) दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्रअनुसार ज्येष्ठ सदस्य राणाको जन्म वि.सं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया