

महामन्त्री शर्मा भन्छन् – जनताको मर्मविपरीत माओवादीले सत्ताको आकांक्षा राख्यो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)ले अहिले सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्नु गठबन्धन र जनताको मर्मविपरीत भएको बताएका छन्।
उनले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए। महामन्त्री शर्माले विगतको भन्दा पृथक ढङ्गबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पारे। उनले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध संघका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन्।
‘शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन’, उनले भने। देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ।
महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताए। उनले श्रमिकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको उल्लेख गरे।

