प्रतिनिधिसभाका सांसदलाई पशुपति शमशेर राणाले शपथ खुवाउने


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन् ।

प्रतिनिधिसभाको प्रथम बैठकअघि ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधानअनुसार राणाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई शपथ गराउन लागेका हुन् ।

त्यसका लागि संघीय संसद सचिवालयले निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ नागरिकको हैसियतमा राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ‘संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको छ,’ धमलाले भने, ‘राष्ट्रपति कार्यालयबाट भोलि १ बजे राणाको शपथ हुने अनौपचारिक जानकारी आएको छ ।’

संसद सचिवालयको पत्रअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि राणाले अन्य निर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन् । यसअघि प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले सांसदहरुको शपथ गराएका थिए ।

प्रतिक्रिया