किन लड्दैछन् गगनले देउवाविरुद्ध ‘हार्ने’ चुनाव ?


नेपाली कांग्रेसको भोली हुने संसदीय दलको नेताको निर्वाचनमा गगन थापा सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसका लोकप्रिय नेता मानिएका गगन थापाले संस्थापनइतरपक्षबाट उम्मेदवारी दिँदै गर्दा संसदीय दलमा जित हात पार्ने सम्भावना ज्यादै न्यून छ ।

प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी जम्मा ८९ सांसद रहेको कांग्रेसमा देउवा पक्षीय सांसदहरुको बहुमत रहेको छ । प्रत्यक्षमा देउवापक्ष वा संस्थापन पक्षको मात्र नै बहुमत रहेको अवस्थामा समानुपातिकका ३२ मध्ये २३ जना देउवा पक्षका उम्मेदवारहरु सांसद बनेका छन् । यसबाट संसदीय दलको निर्वाचनमा देउवा निर्वाचित हुने निश्चितःप्राय छ । तर पनि महामन्त्री थापाले उनीविरुद्ध संसदीय दल नेताका लागि ‘हार्ने’ गरी उम्मेदवारी दिने भएका छन् ।

दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिन सकिन्छ ।

थापाले संसदीय दलका लागि उम्मेदवारी दिँदै गर्दा आगामी १५ औं महाधिवेशनको तयारीस्वरुप आफूलाई एउटा धारमा बलियोसँग स्थापित गर्ने मनसाय राखेको प्रष्ट हुन्छ । र, अर्को कुरा उनले निर्वाचनको पूर्वसन्ध्यामा प्रचारप्रसारको क्रममा संसदीय दलबाट निर्वाचित भएर आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका कारण पनि देउवाले मतदातासँग गरेको प्रतिबद्धताअनुरुप नतिजा आफ्नो पक्षमा नआउने भए पनि उम्मेदवारी दिएको हुनसक्छ ।

उनको उम्मेदवारी देउवाविरुद्ध नभई पार्टीलाई प्रजातान्त्रिक पद्धतिलाई अनुशरण गर्नु पनि हो । जसले गर्दा कुनै पनि कार्यका लागि प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यतालाई थापाले आत्मसाथ गर्दै उम्मेदवारी दिन लागेका हुन् ।

आगामी महाधिवेशनका सभापतिका बलियो उम्मेदवार शेखर कोइरालासँगको छलफलपछि थापाले कोइरालालाई समर्थन गर्ने प्रतिबद्धता गरेर अहिले उम्मेदवारी दिएको जनाइएको छ ।

महाधिवेशनमा डा. कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको सांसद सुनिल शर्माले बताएका छन् ।

संस्थापनइतर समुहको राजधानीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले महामन्त्री थापालाई सशर्त संसदीय दलको नेताको उम्मेदवार बनाइएको जानकारी दिएका हुन् ।

आजको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको छ।  यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।

प्रतिक्रिया